जीवन शर्मा
चिसोले कटठ्याग्रिदै गरेको रात, सन्त्रास र एकान्तमा
एकहुल लाटोकोसेरोको हुइयाले डराएको मन,
अध्यारोले गाँज्दै गरेको सामुन्नेको
आकृति ठम्याउन खोज्दै गरेको बेला,
अचानक आफ्नै थाप्लो माथि खसेको जुन
म हिरोसिमा भएर डढे,
नितान्त शान्त बिष्फोट र सुनसान अन्धकार भित्र पनि
जुनले आगो ओकल्यो र लाभाहरुले पोल्यो
मेरो सपनाको सुन्दर नागासाकी सल्किदै गरेको स्वप्न बगैंचा र
फक्रिदै गरेको फूलका पत्रहरु खरानीको रासमा
रुपान्तरित हुँदै गर्दा
जुन अचानक आफ्नै अगाडि बिष्फोट भयो
स्वयं आफ्नै टाउको माथि म माटोको ढिस्को भएर जुनको आगोले जलिरहे
गर्वले फूलेको छाती र ममतामा पुलपुलिएका सपनाहरु बोकेर
निसन्देह बतासिएका रहरहरु माथि
धृतराष्ट्रको कुपित अंगालो जस्तै
आफ्नै आशा र भरोसाको जुन
अचानक आफ्नै टाउको माथि खस्दा
आफ्नै खरानी बोकेर उडिरहेको बतास खोजिरहे
अचानक जुनले आगो ओकल्यो आफ्नै टाउको माथि
म त्यहिं जुनको आगोमा पग्लिरहे।
शितलता अचानक तापमा परिवर्तित भयो
छायाँ अचानक मुर्तिमा जड भयो
पानीका शितल थोपाहरु
अचानक आगोका तातो ज्वालामा बदलिए
जुन खसेको त्यो रात, जुन मात्र खसेन,
मेरो सपना र लक्ष्यहरु खसे
मेरो विश्वास र आस्थाहरु मरे
अब म कहिल्यै आकाशमा मेरो जुन देख्दिन
मेरो जुन आगोको डल्लोमा परिवर्तित भयो
जुन खसेको त्यो रात।


सधैं क्रान्तिका गीतहरुले रगत तत्याउँने जीवन शर्माको क्रान्ति कविता "जून खसेको रात " उस्तै शसक्त छ । मेरो सलाम जीवन शर्मालाई !